चितवन। भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल सञ्चालनमा आउने भएको छ। सो पुल निर्माण थालेको १० वर्षपछि सञ्चालनमा आउन लागेको हो।
विभिन्न कठिनाइसँगै पुल निर्माणको काम यसै महिना सम्पन्न भइ सञ्चालन हुन लागेको हो । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार यही माघ २० गतेदेखि पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। पुल र बाटो जोड्ने स्ल्याप पुस २८ गते ढलान गरिएको छ। पुलको दुवैतर्फको स्ल्याप ढलान गरिएकाले माघको २० गतेबाट सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको छ ।
पुल निर्माणको कार्य २०७१ सालको कात्तिक २० गते निर्माण कम्पनीसँग सम्झौता गरी काम अघि बढाइएको थियो । निर्माणका क्रममा पटक–पटक प्राविधिक समस्या आउँदा निर्माण कार्य ढिला हुन पुगेको बताइएको छ।
पुल निर्माणका लागि सुरुमा रु १९ करोड १० लाख ६६ हजारमा ठेक्का सम्झौता भएको भए पनि संशोधित लागत रु २१ करोड ६८ लाख ४८ हजार रहेको छ ।