रौतहट। जिल्लाको गरुडा–कटहरिया–कलैया सडकखण्ड अन्तर्गतको सडकमा कालोपत्रे प्रक्रिया तीव्र गतिमा अघि बढेको छ। कटहरिया कलैया सडकखण्डमा कालोपत्रे निर्माणको लागि २० करोड रुपैया स्वीकृत भएसँगै काम अघि बढेको हो।
डिभिजन सडक कार्यालय द्वारा ६ किलोमिटर कालोपत्रे निर्माणको लागि आव्हान गरेको टेण्डर आश्रय निर्माण सेवाले साढे ९ करोडमा साकार गरेको छ। कटहरिया घाट लालबकैया पुलको पश्चिम बाँधछेउ बाट बाटो निर्माण सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ । कुल साढे ९ करोडको लागतमा ७ मिटर चौडाइ भएको ६ किलोमिटर अक्सफाल्ट प्रविधिको कालोपत्रेका साथै ११ वटा कल्भर्ट र १ स्थानमा ४६ फिट लामो आरसिसी कल्भर्ट निर्माण हुने योजना रहेको छ ।
५ वटा कल्भर्ट निर्माण पूरा भइसकेको छ । पहिलो चरणमा माटो पुर्ने काम भैसकेको छ । लगत्तै ग्राभेल बेस राखेर ५ सेन्टिमिटर अक्सफाल्ट प्रविधिको पिच निर्माणको काम सुरु गरिने बताइएको छ। कालोपत्रे निर्माण कार्य यसै आर्थिक वर्षमा पूरा गर्ने निर्माण कम्पनीको दाबी छ।