काठमाडौं। रसुवागढी जलविद्युत् आयोजनाको संरचनामा पानी भरेर परीक्षण गर्न सुरु गरिएको छ। रसुवामा निर्माण सम्पन्न भएको १११ मेगावाटको रसुवागढी आयोजनाको संरचनामा शुक्रबारदेखि पानी भरेर परीक्षण सुरु गरिएको हो।
रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरेको आयोजना विभिन्न समस्या, अवरोध र प्राकृतिक विपद् झेल्दै परीक्षणको चरणमा पुगेको हो ।
आयोजनाको बाँधस्थलको सफल परीक्षणपश्चात् सुरुङका विभिन्न संरचनाहरूको चरणवद्ध रूपमा परीक्षण गर्ने कार्यतालिका रहेको कम्पनीले जनाएको छ । माघ ५ गतेदेखि बालुवा थिग्राउने, पोखरी, सुरुङ, पेनस्टक तथा अन्य उपकरणको प्राविधिक परीक्षण सुरु गरिने छ।
यसैगरी, कम्पनीले सम्पूर्ण संरचनाको चरणबद्ध रूपमा प्राविधिक परीक्षण गरेपछि व्यापारिक उत्पादनको चरणमा प्रवेश गर्ने आयोजनाले जनाएको छ।
परीक्षण अवधिभर नदीको पानी छेक्ने र छोड्ने कार्य गरिरहनुपर्ने भएकोले नदीको आसपास कार्यहरू नगर्न कम्पनीले आग्रह गरेको छ ।