काठमाडौं। धरमनगर सोलार फार्म–२ आयोजना निर्माण गर्न १ अर्ब २० करोड लागत अनुमान गरिएको छ। कपिलवस्तुको शिवराज नगरपालिकाको–६ मा निर्माण अघि बढेको १५ मेगावाटको धरमनगर सोलार फार्म–२ आयोजना सम्पन्न गर्न १ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको हो ।
पशुपति रिन्यूएबल्स प्रालिले अघि बढाएको आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइ) प्रतिवेदन अनुसार नगरपालिकाको धरमनगर तथा मजगवाँ गाउँ नजिकै १७ हेक्टर निजी जमिनलाई भाडामा लिई निर्माण गर्न लागिएको सौर्य आयोजना सम्पन्न गर्न १ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यसका आधारमा आयोजनाको प्रतिमेगावाट लागत ८ करोड रुपैयाँ रहेको छ ।
आयोजनाको निर्माण सुरु भएको १२ महिनाभित्र सबै काम पूरा गर्ने योजना छ । यो आयोजना पूरा भएपछि औसत वार्षिक ३०.२ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । उत्पादीत विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत २.९ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको शिवपुर सबस्टेसनमा जोडिनेछ ।