काठमाडौं। कार्यसम्पादनमा ढिलाइ भएका आयोजनाबारे लिखित जवाफ पेस गर्न निर्देशन दिइएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रालयमा आज मन्त्रालय र मातहतका निकायका प्रमुखसँग चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवस्थाबारे छलफल गर्दै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले यस्तो निर्देशन दिएका हुन्।
उनले समस्या देखिएका आयोजनाको तुरुन्तै समाधान गर्न आग्रह समेत गरेका छन्।
उनले भने, ‘यसपटक काम सुरु हुन नसकेका आयोजनाको लिखित कारणसहितको विवरण पेस गर्नुस् । अर्को पटक कम कार्यप्रगति भएका आयोजनाको पनि यसैगरी विवरण पेस गर्नुपर्ने हुन्छ।’
उनले राष्ट्रिय गौरवका आयोजना, ठूला र प्राथमिकता प्राप्त आयोजनाको कार्यप्रगतिमा देखिएको समस्या समाधानका लागि मातहतका निकाय आफै जिम्मेवार हुनुपर्ने बताए । चालु आवको ६ महिना पूरा भइसक्दासमेत केही आयोजनाको प्रगति अपेक्षित हुन नसक्नुको कारण लिखित रुपमा पेस गर्न निर्देशन दिँदै उनले किन त्यसो भएको हो, जिम्मेवार को हो भन्ने जस्ता प्रश्नको उत्तर खुलाउनुपर्ने बताए।