काठमाडौं। सिद्धार्थ राजमार्गअन्तर्गतको सिद्धबाबामा सुरुङ खन्ने काम सुरु भएको छ। सिद्धबाबामा आजबाट सुरुङ खन्ने काम औपचारिक रूपमा सुरु भएको हो।
नेपालका लागि चिनियाँ राजदूत छेन सोङले सिद्धबाबामा आजबाट सुरुङ खन्ने काम औपचारिकरूपमा सुरु भएको जानकारी गराएका छन् । यो परियोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी) ले पाएको छ ।
यहाँ कुल १ हजार १ सय २६ मिटर लामो सुरुङ बन्ने छ । यसबाहेक बुटवल र पाल्पातर्फको ७ सय ८० मिटर सडकमा दोहोरो लेन, स्लोप प्रोटेक्सनसहित संरचना गरी कुल २.५९ किलोमिटर क्षेत्रमा भौतिक संरचना निर्माण हुँदैछ ।
राजदूत सोङले आयोजनामा काम सुरुवात गरेकोमा कम्पनीलाई बधाइ समेत दिएका छन् । उनले पोखरासँग जोड्ने सुरुङमार्ग पूरा भएपछि त्यस क्षेत्रमा पहिरोको जोखिम घटाउने र स्थानीय आर्थिक विकासमा समेत योगदान गर्ने बताएका छन् ।