काठमाडौं। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको गरिने भएको छ। तीन करोड लागतमा चित्रे–घोडेपानी सडक स्तरोन्नतिको काम अघि बढाउन थालिएको हो।
गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सडक स्तरोन्नति गर्ने प्रक्रीया अघि बढाइ सकेको छ।
मन्त्रालयको निर्देशन अनुसार सडक स्तरोन्नति गर्न प्राविधिक टोलीले सर्वेक्षण समेत गरिसकेको छ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा तीस लाख बजेट बिनियोजन भएको यो सडक योजनाका लागि थप तीस लाख बजेट थप गर्ने र त्यसलाई २० प्रतिशत मानेर तीन करोड बजेट बराबरको बहुबर्षीय ठेक्का लगाउन लागेको छ ।
मंसिर दोस्रो हप्ता घोडेपानीमा भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रथम चौमासिक समिक्षा कार्यक्रममा सहभागि हुन आएका प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री जुग्जालीको प्रस्तावमा चित्रे घोडेपानी सडक स्तरोन्नति गर्न यसै वर्ष बहुबर्षिय ठेक्का प्रक्रीया शुरु गर्ने घोषणा गरेका थिए ।