काठमाडौं। ८२८ मेगावाटको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजनाको वातारणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन स्वीकृत भएको छ । चार वर्षदेखि रोकिएको आयोजनाको इआइए प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको हो ।
मन्त्रालयले केही दिन अघि मात्र इआइए रिपोर्ट स्वीकृत गरेको कम्पनीले जनाएको छ। कम्पनीले २०७६ असारमै प्रतिवेदन तयार गरी स्वीकृतका लागि मन्त्रालय पठाएको थियो ।
विद्युत् विकास विभागले अनुमति दिएपछि, वित्तीय व्यवस्था र विद्युत् खरिद सम्झौता (पिपिए) गरेर संरचना निर्माणको काम सुरु गर्ने कम्पनीको भनाइ छ।
आयोजना निर्माणपूर्वका सबै काम पूरा गरेर आगामी तीन वर्षभित्र संरचना निर्माणको काम सुरु गर्ने योजना रहेको समेत कम्पनीले जनाएको छ। निर्माण सुरु भएको ७ वर्षभित्र अर्थात अबको १० वर्षभित्र विद्युत् उत्पादन थाल्ने लक्ष्य छ ।
बागलुङमा निर्माण अघि बढेको आयोजना विस २०६१ सालदेखि चर्चामा रहेको छ । यो आयोजना नेपाल विद्युत् प्राधिकरणको सहायक उत्तरगंगा हाइड्रो पावर कम्पनी लिमिटेडले अघि बढाएको छ ।