काठमाडौं। सरकारले अघि सारेको १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन, खपत र व्यापारको लक्ष्य सम्भव हुने विज्ञहरुले बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को २४औं वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रियामा सरोकारवालाले उक्त लक्ष्य सम्भव भएको बताएका हुन् ।
‘भविष्यमा ऊर्जा विकासको रणनीति’ विषयक अन्तक्रियामा सहभागी प्यानालिस्टहरूले ऊर्जामा लगानी बढाउन अपरिहार्य रहेको भन्दै समृद्धिको आधार नै ऊर्जा भएको बताए।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलका सहसचिव सन्दिपकुमार देवले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको योजना सम्भव हुने बताए । नेपालमा २० मेगावाट बिजुली उत्पादन भएको अवस्थाबाट हाल ५०० मेगावाट निर्यात गर्नेसम्मको अवस्थामा आइपुगेको स्मरण गर्दै उनले आगामी दिनमा पनि ऊर्जा उत्पादनको सम्भावना एकदमै उच्च रहेको बताए ।
त्यस्तै नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर बमहादुर मिश्रले जलविद्युत् आयोजना निर्माणमा लगानी गर्न नेपालका बैंक तथा वित्तीय संस्था सक्षम रहेको उल्लेख गरे । २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन ठूलो सुनिए पनि साना साना आयोजना लगानी गरेर ठूलो मात्रामा विद्युत् उत्पादन गर्न सकिने मिश्रको भनाइ थियो ।