काठमाडौं। नेपाल सरकारको रु २० करोडको लागतमा सूर्यविनायक नगरपालिका–१ स्थित सिरुटार–बिरुवा सडक शनिबारदेखि निर्माण शुरू गरिएको छ।
सो सडकको शनिबार बागमती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले शिलान्यास गरेका छन्। ढलसहित ११ मिटर चौडाइ कालोपत्र सडकमा फुटपाथ, कुलो, सडकपेटी, हरियाली र उज्यालो सडक अभियानअन्तर्गत सडकबत्ती जडान सम्पन्न गर्ने गरी निर्माण शुरू भएको उनले जानकारी दिएका छन्।
बालकोट र सिरुटारको सिमाना पुलबाट सिरुटार–बिरुवा सडकखण्ड पहिलो चरणमा निर्माण सम्पन्न गर्ने र यसका लागि प्रदेश सरकारबाट रु १५ करोडको बजेट बिनियोजन भएको छ। यसैगरी बिरुवाबाट तर्खगालसम्म सडक निर्माणको लागि सङ्घीय सरकारबाट रु ५ करोड बजेट बिनियोजन भएको छ। सो सडकमा ठेक्का आह्वान गर्दा आएको बिलोसहित करिब रु २६ करोड लागतमा निर्माण सकिने अनुमान गरिएको छ।
यसैगरी यसअघि सङ्घीय, प्रदेश सरकार तथा नगरपालिकाबाट समेत रु १२ करोडको लगानीमा सडक फराकिलो पार्ने र सडकको दायाँबायाँ पर्खाल लगाउने काम सम्पन्न भएको छ भने आगामी एक वर्षभित्रमा सो सडकको सम्पूर्ण निर्माण पूरा गरिने योजना रहेको बागमती प्रदेशसभा सदस्यले जानकारी दिएका छन्। सिरुटारमा अधिकांश भित्री सडक फराकिलो पार्ने, कालोपत्र गर्ने र ढलान गर्ने काम सम्पन्न भएको तथा केही सम्पन्न गर्ने चरणमा रहेको पनि उनले जानकारी दिएका छन्।