म्याग्दी। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत निर्माणाधीन बेनी–जोमसोम–कोरला सडकको पोखरेबगर भिरकाटेमा सुरुङमार्ग (टनेल) निर्माण गरिने भएको छ । गण्डकी प्रदेशको प्रमुख आयोजनाअन्तर्गतको उत्तरमा चीन र दक्षिणमा भारत जोड्ने उक्त सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने भिरकाटेमा सुरुङमार्ग निर्माण गरिने भएको हो।
कालीगण्डकी नदीको कटानका कारण सडक साँघुरो भएपछि दुई लेनको सुरूङमार्ग बनाउन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा पत्र पठाइएको बेनी–जोमसोम सडकका आयोजनाले जनाएको छ। कालीगण्डकीको कटानले सडक साँघुरो बनेपछि नियमित सडक सञ्चालनमा कठिन देखिएकाले तीन सय ८४ मिटर लामो सुरुङ बनाउन डिजाइनसहित फाइल तयार गरी स्वीकृतिका लागि पठाइएको हो।