काठमाडौं। ८२८ मेगावाटको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजनाको वातारणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन स्वीकृत भएको छ । चार वर्षदेखि रोकिएको आयोजनाको इआइए प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको हो ।
मन्त्रालयले केही दिन अघि मात्र इआइए रिपोर्ट स्वीकृत गरेको कम्पनीले जनाएको छ। कम्पनीले २०७६ असारमै प्रतिवेदन तयार गरी स्वीकृतका लागि मन्त्रालय पठाएको थियो ।
विद्युत् विकास विभागले अनुमति दिएपछि, वित्तीय व्यवस्था र विद्युत् खरिद सम्झौता (पिपिए) गरेर संरचना निर्माणको काम सुरु गर्ने कम्पनीको भनाइ छ।
आयोजना निर्माण पूर्वका सबै काम पूरा गरेर आगामी तीन वर्षभित्र संरचना निर्माणको काम सुरु गर्ने योजना रहेको समेत कम्पनीले जनाएको छ। निर्माण सुरु भएको ७ वर्षभित्र अर्थात अबको १० वर्षभित्र विद्युत् उत्पादन थाल्ने लक्ष्य छ ।
आयोजनाको सम्भाव्यता अध्ययन अनुसार निर्माण सम्पन्न गर्न १.०८ बिलियन अमेरिकी डलर अर्थात आजको मूल्यमा नेपाली रुपैयाँ १ खर्ब ४३ अर्ब ३१ करोड ६० लाख अनुमान गरिएको छ । जसअनुसार प्रतिमेगावाट लागत करिब १७ करोड ३० लाख रुपैयाँ लाग्ने देखिएको छ ।
ढोरपाटनको उत्तरगंगा नदीमा २०० मिटर अग्लो बाँध बाँधेर जम्मा गरेको पानीलाई ढोरपाटनको नदीदेखि निसीखोलामा झार्ने सम्भाव्यता अध्ययनमा उल्लेख गरिएको छ ।