काठमाडौं। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ बखफर र वडा नम्बर ४ को हाकपारा जोड्ने गरी मरिण खोलामा पक्की पुलको सिलान्यास गरिएको छ। शनिबार एक कार्यक्रमका बीच बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सो पुलको सिलान्यास गरेका हुन्।
लामा विधिबाट भूमि पूजा गर्दै पुलको सिलान्यास गरेका मुख्यमन्त्री पाण्डेले पुलको निर्माणले सो क्षेत्रको विकासमा टेवा पुग्ने बताएका छन्। उक्त पुल निर्माणले सिन्धुली जिल्लामा जुनारको बिक्रीमा समेत सहयोग पुग्ने जनाइएको छ। हेटौंडा–सिन्धुली–चतरा (मदन भण्डारी लोकमार्ग) अन्तरगत सिन्धुली र मकवानपुर जोड्ने बागमती नदीको पक्की पुल निमार्णमा ढिलाइ भएको प्रति चासो राख्दै उनले तत्काल निर्माण सम्पन्न नभए कारवाही गरिने चेतावनी दिएका छन्।
मरिण नदिको पुलको सामरिक महत्त्व रहेको भन्दै हुनाले पुलसँगै सडक पनि १२ महिना नै सञ्चालन गर्ने गरी निर्माण गर्नु पर्ने आवश्यकता रहेको पूर्व कृषिमन्त्रीले जनाएका छन्। उक्त पुल निर्माणले विकट पालिकाको विकासमा सघाउ पुग्ने भएको छ। स्थानीयले वर्षौंदेखि माग गर्दै आएको पुल बागमती सरकारकै सबैभन्दा धेरै लागतमा बन्न लागेको हो। २६२.४० मिटर लम्बाई र ८.४ मिटर चौडाई भएको सो पुलको लागत पि.एस र मूल्य अभिवृद्धि करसहित १९ करोड २५ लाख ४१ हजार ८ सय १७ रूपैयाँ रहेको छ।
सो पुल निर्माणको ठेक्का हिम्दुंग र थोकर इम्मानुयल सारस जेभीले पाएको छ। २०८७ असार २२ गते सम्झौता भएको पुल २०७९ पुस २२ गतेभित्र सम्पन्न गर्नु पर्ने बागमती प्रदेश भौतिक मन्त्रालयले जनाएको छ। सो पुल निर्माण भएपछि हिमाल पहाड र तराई जोडिने बताउँदै स्थानीयहरुले खुसी व्यक्त गरेका छन्। उक्त पुल निर्माण भएपछि मदन भण्डारी लोकमार्गबाट बखफर–हाकपुर हुँदै सर्लाहीको कर्मैया स्थित पूर्वपश्चिम महेन्द्र राजमार्ग जोडिने भएको छ।