काठमाडौं। सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य हालसम्म ४० प्रतिशत पूरा भएको छ। बाँकेको ४२ हजार ७६६ हेक्टर जमिन सिँचाइ गर्न निर्माण थालिएको आयोजनाको काम हालसम्म ४० प्रतिशत पूरा भएको हो।
सोमबार सिंहदरबारस्थित ‘एक्सन रूम’मा उपस्थित भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ब्रिफिङ सुनाउँदै आयोजनाका प्रमुख देवराज निरौलाले आयोजनामा बजेट अभाव भएको सुनाए ।
उनले मुआब्जा वितरणका लागि पनि बजेट नभएको बताए । पूर्वी र पश्चिमी नहरमा समानान्तर रूपमा काम भइरहेको भन्दै उनले बजेट सुनिश्चित भए कार्यतालिका बनाएर काम गर्न सक्ने प्रधानमन्त्रीलाई सुनाए ।
सिक्टामा हालसम्म पुलसहितको ३१७ मिटर लामो ब्यारेज र पश्चिमतर्फ ४५.२५ किलोमिटर लामो मूल नहर बनेको छ । आयोजना प्रमुख निरौलाका अनुसार पूर्वी मूल नहरको चैनेज र ३७.६७५ किलोमिटर नहर बनेको छ ।