काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले द्रुतमार्ग बनेपछि काठमाडौं र बाराको दुरी ४५ मिनेटमा झर्ने बताएका छन्। सोमबार बाराको महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै अर्थमन्त्री महतले द्रुतमार्ग बनेपछि काठमाडौं र बाराको दुरी ४५ मिनेटमा झर्ने दाबी गरेका हुन्।
उनले द्रुतमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि बाराको विकासले छलाङ मार्ने समेत बताए।
उनले भने, ‘तराईसँग काठमाडौं जोड्ने द्रुतमार्ग पनि निर्माण हुँदैछ । यो मार्ग छिटो सम्पन्न गर्नुपर्छ भनेर सरकारले खबरदारी गरिरहेको छ । यो मार्ग निर्माण सम्पन्न भएपछि काठमाडौं–बाराको दुरी ४५ मिनेटमा झार्नेछ।’
मन्त्री डा. महतले बारामा अन्तर्राष्ट्रिय विमानस्थल समेत बन्ने तयारीमा रहेको र विविध कारणले यो ढिलाइ भएको बताए। यसबारे भारत लगायत अन्य विभिन्न लगानीकर्तासँग कुराकानी भइरहेको उनको दाबी छ।