बागलुङ। विसं २०६० मा जनसहभागिता ट्र्याक निर्माण गरिएको अक्षते–सुल्डाँडा–लेखानी सडक स्तारोन्नति गरिने भएको छ। उक्त सडक ट्र्याक निर्माण गरिएको २० वर्षपछि स्तरोन्नति गरिने भएको हो।
यसलाई लोकमार्गको वैकल्पिक सडकका रुपमा लिइएको छ । स्थानीयले कोदालो, गैँटी र बेल्चाले महिनौँ लगाएर निर्माण गरेको सडक यसवर्ष स्तरोन्नति हुने भएको हो । बहुवर्षीय योजना अन्तर्गत सङ्घीय सरकार र काठेखोला गाउँपालिकाको सहकार्यमा सडक स्तरोन्नति हुन थालेको हो ।
काठेखोला–१ अक्षतेदेखि वडा नं ८ लेखानी जोडिएको १५ किलोमिटर सडकका लागि चालु आर्थिक वर्षमा एक करोड विनियोजन भएको छ । भुदीखोला पुलदेखि स्तारोन्नतिसहित ग्राभेलिङ गर्ने योजना रहेको गाउँपालिकाको भनाइ छ।
स्तरोन्नति अन्तर्गत सडक चौडा गर्ने, नाली निर्माण र बेसको अन्य काम हुनेछ । बाटो स्तरोन्नति नहुँदा वर्षौसम्म नागरिकले समस्या भोग्नु परेको थियो।