धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिका–५ डाँडाबजार क्षेत्रको सडक विस्तार कार्य सुरु गरिएको छ। साँगुरीगढी ५ नम्बर वडा कार्यालयको अगुवाइमा सडक फराकिलो बनाउने कार्य सुरु गरिएको हो।
डाँडाबजार चोकदेखि डाँडाबजार खेल मैदान सम्मको करिब डेढ किलोमिटर सडकको चौडाहा फराकिलो पारिने वडाकार्यालयले जनाएको छ।
अहिले सडकको चौडाहा ५ मिटर पनि छैन। अब उक्त सडकलाई फराकिलो बनाएर चौडाहा ७ मिटरको बनाइने छ। बजार क्षेत्रको सडक विस्तारका लागि गाउँपालिकाले जेसिवी उपलब्ध गराएको छ। वडाबाट २ लाख ५० हजार बजेट विनियोजन गरिएको छ। सडक विस्तारको कार्य सुरु गर्नुअघि वडा कार्यालयको अगुवाइमा स्थानीय बासिन्दासँग छलफल गरिएको थियो।
सडक विस्तारका क्रममा एउटा घर पूर्ण रुपमा र डाँडाबजारको सार्वजनिक शौचालय समेत भत्किने छ। त्यस्तै अधिकांश घरको अगाडि पट्टीको भाग भत्किने छन्।