हुम्ला। हुम्लाको नाम्खा गाउँपालिका–१ स्थित हेप्का खोलामा निर्माण हुने पक्की पुल ६ वर्षदेखि अलपत्र अवस्थामा छ । निर्माण सुरु भएको ६ वर्षमा पुलका दुई पिल्लरमात्रै ठडिएका छन् । ठेकेदार र हिल्सा–सिमकोट सडक आयोजनाको चरम लापरबाहीका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिका जोड्ने हेप्का खोलाको मोटरेबल पुल निर्माण अलपत्र परेको हो ।
ठेकेदार कम्पनी एमएस् जेबी धुलिखेलको ढिलासुस्तीका कारण नाम्खा गाउँपालिका–१ मा पर्ने हेप्का खोलाको पुल ६ वर्षदेखि अलपत्र परेको हो । ०७४ साउन ६ मा दुई वर्षभित्रै सम्पन्न भइसक्नुपर्ने सम्झौता भएको हेप्का खोला पुलको हालसम्म ठेकेदारले दुई किनारमा पिल्लर मात्र ठड्याउने बाहेक अरु काम गर्न सकेको छैन ।
कर्णाली करिडोरअन्तर्गत सिमकोट हिल्सा सडक खण्डमा पर्ने हेप्का खोला पुल नौ करोड ९९ लाख रुपैयाँ लागतमा पूरा गर्ने गरी एमएस् जेबी धुलिखेलले २०७४ साल साउन ६ गते ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले आवश्यक निर्माण सामग्रीसमेत निर्माणस्थलमा जम्मा गर्न सकेको छैन । पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा निर्माण कम्पनीलाई बारम्बार ताकेता गरे पनि बेवास्ता गरेको नाम्खा गाउँपालिकाले जनाएको छ। कारोबार दैनिकबाट