काठमाडौं। ठूलो खोला जलविद्युत् आयोजनाको काम ८० प्रतिशत पूरा भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकास्थित कुइनेमंगलेमा सयुंक्त ऊर्जा लिमिटेडले प्रवर्द्धन गरिरहेको २१.३ मेगावाटको आयोजनाको काम ८० प्रतिशत पूरा भएको हो ।
आयोजनाबाट आगामी असारभित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको छ। आयोजनाको सबै क्षेत्रको काम तीव्र गतिमा भइरहेको छ र आगामी ६ महिनाभित्र आयोजनाबाट उत्पादन परीक्षण सुरु हुनेछ ।
आयोजनाको ६०० मिटर पेनस्टक पाइप निर्माणको काम पनि भइरहेको छ । यसका साथै, डिस्यान्डर, सर्फेस टनेल, सिभिल संरचना निर्माणको भूमिगत कार्य, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल र प्रसारण लाइन निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ ।
आयोजना सम्पन्न गर्न ३ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । उक्त आयोजनामा लगानी गर्न कम्पनी र बैंकहरुबीच २०७७ चैत ४ गते लगानी सम्झौता भएको थियो । हाल आयोजनामा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी छ । आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाइमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंकले लगानी गरेका छन् ।