रसुवा। जिल्ला सदरमुकाम नजिकै रहेपनि भौगोलिक रुपमा विकट रहेको नागुङगाउँ हाल सडक सञ्जालसँगे जोडिएको छ। लामो समयको प्रयासपछि यस वर्ष उपभोक्ता समितिमार्फत गोसाइँकुण्ड गाउँपालिकाले कृषि सडक निर्माण गरी नागुङवासीको सपना पूरा गरेको हो।
शनिबार गाउँपालिका प्रमुख कैसाङनुर्पु तामाङलगायत स्थानीय तहका नेता तथा कार्यकर्ता चढेको सरकारी सवारी साधन नागुङगाउँमा पुग्दा स्थानीयवासीले स्वागत गरेका थिए। सो अवसरमा गाउँपालिका प्रमुख तामाङले जनताको चाहना र आवश्यक्तालाई दृष्टिगत गरी कृषि सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको र सडकका बीच भागमा पर्ने खोलाको पुल एवं नाली निर्माणलगायत कालोपत्र गर्ने काम बाँकी भएकाले थप व्यवस्थापनका लागि आफूले सहयोग गर्दै जाने जानकारी दिएका छन्।
सदरमुकामबाट तीन घण्टा पैदलयात्रा गर्नुपर्ने नागुङगाउँमा सडक निर्माणपश्चात २० मिनेटमा पुगिने जनाइएको छ। नागुङगाउँ सडक सञ्जालसँग जोडिएकामा स्थानीयबासीले खुशी व्यक्त गरेका छन्। धुञ्चेबाट ४ किलोमिटरको छोटो दूरी रहे पनि उकाली, ओराली र भिरपहरा भएका कारण पैदलयात्रासमेत निकै कठिन रहेको थियो। गोसाइँकुण्ड गाउँपालिकाको रु ५० लाख अनुदान र स्थानीय बासिन्दाको रु ४ लाख बराबर जनश्रमदानबाट निर्माण भएको सो कृषि सडकबाट ५० घर परिवारलाई यातायातको सुविधा पुगेको जानकारी गराइएको छ।
दश वर्ष अगाडिबाट निर्माण सुरू भएको प्रयास बल्ल पूरा भएको नागुङवासीले जानकारी गराएका छन्। त्यसैगरी सडक निर्माणबाट कृषि उपज बजारमा पुर्याउन, विकास निर्माण एवं खाद्यान्न सामग्री ढुवानी गराउन र बिरामी पर्दा एम्बुलेन्स झिकाउन सहज भएको उनीहरुले जानकारी दिएका छन्।