कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटास्थित सनवोरा नदीको पुरानो बहाव क्षेत्रमा पुल निर्माण नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् । झण्डै आधा किलोमिटर क्षेत्रको सडक हिउँदमै हिलाम्मे हुने गर्दछ । पारिफाँटा भमरभोज जोड्ने सडकको बीच क्षेत्रमा पर्ने नदीको पुरानो बहाव क्षेत्रमा स्थानीय बासिन्दाले विगत १० वर्षदेखि पुलको माग गर्दै आएका छन् ।
अर्को वैकल्पिक सडक नहुँदा स्थानीय बासिन्दा, विद्यालय जाने विद्यार्थी, बिरामीलाई अस्पताल पुर्याउनुपर्दा सोही सडक भएर जानुपर्ने अवस्था रहेको स्थानीयले बताए।
हिउँदका बेला सडकमा हिँड्नै गाह्रो छ, वर्षातका बेला कम्मरसम्मको पानीमा गन्तव्यमा जानुपर्छ। सनवोरा नदी पुरानो बहाव छाड्दै पश्चिमतर्फ भएर बग्दै आएको छ । वर्षात्का बेला नदीको बहाव उच्च हुँदा पुरानो बहाव क्षेत्रमा पनि बाढीको पानी बग्ने गर्दछ । नदीको पुरानो बहाव क्षेत्रलाई स्थानीयले घरकटुवा खोला पनि भन्ने गरेका छन् ।
यसै क्षेत्र भएर नगर चक्रपथअन्तर्गतको सडक बन्ने भएकाले पुलका लागि पहल गरिनेमा आशावादी रहेको स्थानीयको भनाइ छ । पारिफाँटा भमरभोज क्षेत्रमा दुई सय ५० बढी परिवारको बसोबास छ ।