काठमाडौं। चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १३ अर्ब २४ करोड रुपैयाँ बराबरको विद्युतीय सवारी साधन आयात गरिएको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार पुससम्ममा साना–ठूला जीप, भ्यान तथा मोटरसाइकल र तीन पाङ्ग्रेसमेत गरी १३ अर्ब २४ करोडको सवारी साधन आयात भएको हो।
विभागकाअनुसार ६ महिनाको अवधिमा १० हजार १३६ विद्युतीय सवारी आयात भएका छन् । यसमध्ये सबैभन्दा बढी तीन पाङ्ग्रे सवारी आयात भएका छन् । साउनदेखि पुससम्मको अवधिमा ५०३५ विद्युतीय सवारी आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
यसैगरी ५० किलोवाटभन्दा कम क्षमताका २०५० सवारी आयात भएको छ । यी सवारीको मूल्य ३ अर्ब ८३ करोड ५४ लाख १७ हजार रुपैयाँ मूल्य रहेको छ । २९ सय ७० वटा ५१ किलोवाट क्षमतादेखि १०० किलोवाट क्षमताका विद्युती सवारी आयात भएको छ ।
१०१ देखि २०० किलोवाट क्षमताका ६८ वटा गाडीको आयात भएको छ । त्यस्तै २०० किलोवाटभन्दा माथिका गाडी पनि १३ वटा आयात भएका छन् । चालु वर्षको ६ महिनामा विद्युतीय गाडी आयातबाट मात्रै ५ अर्ब राजस्व संकलन भएको छ ।
सरकारले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिँदै न्यून भन्सार शूल्क लगाएपछि यस्ता गाडीको आयात बढेको हो ।