जुम्ला। जुम्लाको पातारासी गाउँपालिका–१ मा निर्माणाधीन १ मेगावाटको चुकेनी साना जलविद्युत् आयोजनाको निर्माण अलपत्र अवस्थामा पुगेको छ । निर्माण कार्यले गति लिन नसक्दा यो साना जलविद्युत आयोजना अहिलेसम्म सम्पन्न हुन नसकेको हो ।
निर्माण थालेको १८ महिनामा सकिनुपर्ने यो आयोजना ठेक्का सम्झौता भएको ४ वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन नसकेको पातारासी गाउँपालिकाले जनाएको छ। चुकेनी जलविद्युत आयोजनाको ठेक्का सम्झौता २०७६ जेठ १० गते भएको थियो । सम्झौता भएको मितिले १८ महिनामै निर्माण सकिनुपर्नेमा म्याद थप गर्दै निर्माण गरे पनि आयोजनाले अपेक्षित गति लिन नसकेको हो।
निर्माण ठेक्का पाएको कम्पनीले अहिलेसम्म करिब ९० प्रतिशत निर्माण सम्पन्न गरेको छ । आयोजनाको अझै १० प्रतिशत काम बाँकी छ । निर्माण कम्पनीको ढिलासुस्तीले आयोजनाको प्रगति हुनसकेको छैन ।