काठमाडौं। बूढीगण्डकी जलविद्युत् परियोजनाको लागत तीन खर्ब ७५ अर्ब लाग्ने भएको छ। राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत परियोजनाको कूल लागत तीन खर्ब ७५ अर्ब ७८ करोड बराबर रहने भएको हो।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको छलफलमा आयोजनाको समग्र लगानी ढाँचा र सरकारी स्वामित्वका वित्तीय संस्थाका प्रमुखको सहभागिता थियो । पछिल्लो ढाँचाअनुसार इन्धनमा लगाएको पूर्वाधार करबापत आगामी १० वर्षसम्म सो आयोजनाका लागि एक खर्ब ७९ अर्ब ७८ करोड बराबरको रकम सङ्कलन हुनेछ ।
यस्तै, स्वपुँजीबाट ९० अर्ब ७८ करोड बराबर लगानी गर्नुपर्नेछ । व्यापारिक ब्याजदरमा ऋणबापत ३२ अर्ब दुई करोड बराबरको लगानी जुटाउने व्यवस्था गरिएको छ । सरकारले भन्सार विन्दुमा नै पूर्वाधार करमार्फत पेट्रोलियम पदार्थमा प्रतिलिटर रु १० उठाउँदै आएको छ ।
धादिङ र गोरखाको सिमाना भएर बहने बूढीगण्डकी नदीमा सो आयोजना निर्माण हुनेछ । फ्रान्सेली कम्पनी ट्र्याक्टबेलले सन् २०१४ मा सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बुझाएको थियो ।
आयोजनाबाट धादिङका साविक १४ गाविस र गोरखाका १३ गाविस प्रभावित हुनेछ । आयोजनामा दुई सय ६३ मिटर अग्लो बाँध निर्माण गरिनेछ । आयोजनाले तीन अर्ब ३८ करोड ३० लाख युनिट बिजुली उत्पादन गर्छ ।
प्रधानमन्त्रीले छलफलमा बूढीगण्डकी जलाशययुक्त आयोजना सामान्य परियोजना नभइ राष्ट्रिय गौरवको आयोजनाका साथै बहुआयमिक आयोजना पनि भएकाले यसलाई विलम्ब नगरी अगाडि बढाउनै पर्ने बताएका छन् ।
।