सङ्खुवासभा। तल्लो अरुण जलविद्युत परियोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ। संखुवासभामा निर्माण हुने ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनालाई चाहिने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको हो।
सतलज जलविद्युत् निगमले निर्माण तथा उत्पादन गर्न लागेको यस परियोजनालाई ६५ हेक्टर जग्गा आवश्यक पर्ने बताइएको छ । परियोजनाका लागि आवश्यक जग्गा यकिन गरी सार्वजनिक सूचना प्रकाशित गरिएको मुआब्जा निर्धारण समितिले जनाएको छ। परियोजना सञ्चालक तथा मुआब्जा निर्धारण समितिको अध्ययनपछि दुई पालिकाभित्र रहेको ५६५ कित्ता जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित गरिएको छ ।
सूचनामा प्रकाशित विवरण अनुसार सम्बन्धित जग्गाधनीले एक हप्ताभित्र समितिमा दाबी विरोध पेस गर्नुपर्ने छ । जग्गाधनीले मुआब्जा निर्धारण समितिमा कुनै विरोध वा उजुरी दर्ता नगराए तत्कालै अधिग्रहणको प्रक्रिया सुरु गरिने समितिले जनाएको छ । अधिग्रहणको लागि यकिन गरिएको जग्गा मालपोत कार्यालयमार्फत रोक्का गरिने भएको हुँदा कुनै पनि संरचना निर्माण नगर्न तथा रुख बिरुवा नरोप्न सूचना जारी गरिएको छ ।