बेनी। म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन २५ मेगावाटको दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको निर्माण कार्य ३ महिनादेखि रोकिएको छ। विष्फोटक पदार्थको अभावमा उक्त आयोजना ठप्प भएको हो।
धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको आयोजनाका लागि आवश्यक विष्फोटक पदार्थ समयमा उपलब्ध हुन नसक्दा मुख्य सुरुङ निर्माणको काम लामो समयदेखि ठप्प हुन पुगेको हो ।
२०७५ देखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको पहिलो अडिट सुरुङ खन्न थालिएकोमा मालिका–६ गोचाखोला क्षेत्रमा अहिले उपकरण मात्रै छन् । डोजर, सुरुङ खन्न प्रयोग गरिने मेसिन उपकरण र रडलगायतका निर्माण सामग्री सुरुङ अगाडि अलपत्र अवस्थामा छन् ।
सुरुङ खन्ने काम ३ महिनादेखि रोकिएको आयोजनाले जनाएको छ। आयोजनाको निर्माण सुस्त भएपछि लगानीकर्तासमेत चिन्तित बनेका छन् । मालिका५ देवीस्थान, ७ बिमको सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको सुरुङमार्गबाट ल्याइने पानीलाई दुखुबेँसीमा रहने आउटलेटबाट बालौटेमा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने तयारी छ।