धुलिखेल। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ७ अमलटारबाट सुँगुरे–बुढाखानी–फोक्सिङटार–गोकुले–तालढुङ्गा हुँदै प्रदेश राजधानी हेटौंडा जोड्ने छोटो दूरीको सडकखण्डअन्तर्गत अमलटार–लेकपानी सडकखण्डको स्तरोन्नति भइरहेको छ । पहिलो चरणमा १५ किलोमिटर लामो सडकखण्ड कालोपत्र गर्नेगरी स्तरोन्नति गर्ने कार्य भइरहेको हो।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै बिपी राजमार्गको चारसयबेँसी अमलटार लेकपानी सडक निर्माणकार्य भइरहेकाले सोमबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
गाउँपालिकाले आगामी ३० महिनाभित्र पहिलो चरणमा १५ किलोमिटर लामो सडकखण्ड कालोपत्र गर्नेगरी करिब एक महिना अगाडिदेखि काम भइरहेको बताएको छ। ५१ करोड ४४ लाख ८३ हजार रुपैयाँ लागतमा पूर्वाधार विकास कार्यालयबाट ठेक्का पाएको सिद्धबाबा ग्रिनतार जेभीले पहिलो चरणमा उक्त सडकखण्ड आगामी २०८३ जेठ २५ गतेसम्ममा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार सडक निर्माणसँगै रिटेनिङ वाल, स्ल्याब कल्भर्ट, ह्युमपाइपलगायतका संरचना निर्माण गर्नुपर्ने छ ।