काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय चुलो हरेक नेपालीका लागि उपयोगी हुने बताएका छन्। ‘बढाऔँ विद्युतीय चुल्होको प्रयोग, पुर्याऔँ स्वास्थ्य सुधारमा सहयोग’ भन्ने सन्देशसहित विद्युतीय चुलो राष्ट्रिय अभियानको पाँचौँ वार्षिक उत्सवको अवसरमा विद्युतीय चुलोसम्बन्धी बिहीबार ललितपुरमा आयोजित छलफलमा मन्त्री बस्नेतले आर्थिक, सामाजिक र वातावरणीय दृष्टिले विद्युतीय चुलो हरेक नेपालीका लागि उपयोगी भएको बताएका हुन्।
उनले देशको समृद्धिको आधार जलविद्युत् भएकाले अधिकभन्दा अधिक ऊर्जा उत्पादनलाई सरकारले जोड दिएको बताए । राष्ट्रिय चुलो अभियानलाई सफल बनाउन निजी क्षेत्रलाई पनि अनुदान र सहुलियत दिएर सहभागी गराउनुपर्ने ऊर्जामन्त्रीले बताए । उनले जलवायु परिवर्तनका असर र त्यसबाट कृषि क्षेत्रमा परेको प्रभावबारे सबै पक्ष गम्भिर हुनुपर्छ भने ।
आगामी आर्थिक वर्षदेखि सुरुहुने १६औं आवधिक आयोजनामा विद्युतीय चुलोको प्रयोग बढाउँदै एलपी ग्यासको आयात प्रतिस्थापन गर्नेतर्फ सरकारको ध्यान केन्द्रित हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बताए ।