काठमाडौं। काभ्रेपलाञ्चोकका ३ गाउँपालिकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुर्याउन प्रसारण प्रणाली विस्तारको काम भइरहेको छ । नेपाल विद्युत प्राधिकरणले अहिलेसम्म लघु जलविद्युतको भरमा रहेका महाभारत र खानीखोला तथा मध्य दुर्गममा सूचीकृत रोशी गाउँपालिकामा विद्युत पहुँच पुर्याउन प्रसारण प्रणाली विस्तारको काम गरिरहेको हो ।
प्रसारण प्रणाली विस्तार भइरहेकामध्ये संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सूचीकृत तालिकामा २ वटा दुर्गम र एउटा मध्य दुर्गम गाउँपालिकामा पर्दछन् ।
दुर्गम मानिएको महाभारत र खानीखोला तथा मध्य दुर्गममा सूचीकृत रोशी गाउँपालिकामा धमाधम विद्युतीय पूर्वाधार विस्तारको काम भइरहेको छ । यसअघि यी गाउँपालिकाको अधिकांश क्षेत्रमा स्थानीय लघु जलविद्युत आयोजनाले उत्पादन गर्ने विद्युतको उपयोग हुँदै आएको थियो ।
प्राधिकरणले महाभारतको वडा नं ३, ४, ५, ६ र ७ मा करिब २ हजार घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत सेवा पुगेको छ । वडा नं १ मा करिब ३ सय थान मिटर पठाउने तयारी भइरहेको बताइएको छ। वडा नं २ र ८ मा लाइन विस्तारको काम भइरहेको छ ।