ढल्केवर। हुलाकी सडकअन्तर्गत धनुषा र सिराहा जोड्ने कमला नदीमा भासिएको पुलको पुनर्निर्माणको काम सुरु गरिएको छ । माघ २ गतेदेखि नै पुनर्निर्माणको काम सुरु गरिएको हो।
असार अगावै पुल सञ्चालन गर्नेगरी पुनर्निर्माणको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र पुल निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’बिच असार अगावै पुल सञ्चालनमा ल्याउने गरी सम्झौता भएको छ ।
सम्झौता अनुसार भासिएको कमला पुलको पुनर्निर्माण काम तीव्रताका साथ भइरहेको बताइएको छ। पुल पुनर्निर्माणमा कार्ययोजना अनुसार तोकिएकै समयमा पुलको निर्माण कार्य सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ।
२०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने गरी निर्माण कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’ सँग सम्झौता गरिएको थियो । पटक–पटक म्याद थपेर करिब १० वर्षपछि ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएर उद्घाटनको तयारी गरिरहेकै बेला २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भासिएपछि निर्माणको काम तत्काललाई अनिश्चित भएको थियो ।
पुल निर्माणमा कम्पनीको लापरबाही देखिएपछि निर्माण कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’ लाई हटाएर ‘लुम्बिनी बिल्डर्स’लाई काम सम्पन्न गर्ने जिम्मेवारी दिइएको थियो ।