धनकुटा। पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर करिडोर कालोपत्र सडकका लागि बजेट अभाव भएको छ । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथर खण्डका लागि बजेट अभाव भएको हो ।
मुलघाट–पाँचथर खण्डको एक सय १२ किलोमिटर सडक कालोपत्रका लागि नेपाल सरकारको ४ अर्ब १६ करोड रुपैयाँ लागतमा २०७९ कात्तिकबाट ३ वर्षमा काम पूरा गर्न गरी ठेक्का लागेको आयोजना सम्पन्न गर्न बजेट अपुग देखिएको छ ।
कालोपत्र सडकका लागि स्तरोन्नति गर्न गत वर्ष ४८ करोड रुपैयाँको काम भएको करिडोरमा चालु आर्थिक वर्ष २०८०।८१ मा ५८ करोड रुपैयाँ विनियोजन भएको थियो । तर, उक्त रकम पुस मसान्तको छ महिनाभित्रमा ४० करोड रुपैयाँ सकिसकेको तमोर करिडोर आयोजनाले जनाएको छ। अब आयोजनालाई विनियोजित रकम रु १८ करोड बाँकी छ, तर निर्माण व्यवसायीलाई काम गरेको तिर्नुपर्ने रकम रु २५ करोड रहेको बताइएको छ।