काठमाडौं। कोसी प्रदेश अन्तर्गत ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिकामा ३० मेगावाटको पालुन खोला १ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । ट्रष्ट इनर्जी लिमिटेडले उक्त गाउँपालिकामा पहिचान गरेको आयोजना अघि बढाउन लागेको हो ।
जिल्लाको मिक्वाखोला गाउँपालिका भएर बग्ने पालुन खोला र सानो खोला समेतको पानी प्रयोग गरी आयोजना निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले आयोजनाको काम अघि बढाउन विद्युत् विकास विभागमा आवेदन दिएको छ । विभागबाट स्वीकृती पाउने लगतै आयोजनाको काम अघि बढाउने पनि कम्पनीले जानकारी दिएको छ ।
प्रस्तावित आयोजना निर्माण तथा सञ्चालन गर्दा आयोजनास्थलमा उल्लेखनीय प्रतिकुल असर पर्ने भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा सरोकारवालाले विभाग तथा कम्पनीले कार्यालयमा आइपुग्ने गरी लिखित रायरसुझाव पेश गर्न आग्रह गरेको छ ।
प्रस्तावित आयोजनाको मुख्य संरचनाहरू पालुन खोला र सानो खोलाको बायाँ किनारामा पर्ने गरी निर्माण गरिनेछ । सोनो खोला र पालुन खोलामा बाँध बाँधी खोलाको बाँयाट्टि निर्माण हुने इन्टेक बाट पानी फर्काइ सो पानीलाई आयोजनाको मुख्य संरचनाहरू हुँदै भूमिगत विद्युत् गृहमा लगिनेछ । तत्पश्चात पानीलाई टेलरेस टनेल मार्फत पुन पालुन खोलामा पठाइनेछ ।