काठमाडौं। ताप्लेजुङ जिल्लाको फक्तालुङ गाउँपालिकामा अघि बढाइएको ४३ मेगावाटको तमोर खोला जलविद्युत् आयोजना निर्माण गर्न करिब ६ अर्ब रुपैयाँ लागत लाग्ने भएको छ । नेपाल हाइड्रो भेन्चर प्रा.लि.ले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन अनुसार आयोजना सम्पन्न गर्न उक्त लागत अनुमान गरिएको हो ।
आयोजनाका निर्माण गरी विद्युत् उत्पादन गर्न ५ अर्ब ९६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यसका आधारमा प्रतिमेगावाट लागत १३ अर्ब २४ करोड रुपैयाँ लागत लाग्ने देखिएको छ ।
कम्पनीले आयोजनाको इआइए प्रतिवेदन तयार गरी वातावरण मन्त्रालयमा पठाइसकेको छ । मन्त्रालयले प्रतिवेदन स्वीकृतको काम अन्तिम चरणमा पुर्याएको छ ।
आयोजनाका मूख्य संरचनाहरूमा डाइभर्सन वेयर, ग्राभेल ट्र्याप, अप्राज नहर, डिस्यान्डिङ बेसिन, हेडरेस सुरुङ, सर्ज ट्याङ्क, पेनस्टक पाइप, विद्युत्गृह, टेलरेस नहर र प्रसारण लाइन रहने छन् ।
प्रस्तावित आयोजनाको डिजाइन डिस्चार्ज २८.६६ घन मिटर प्रति सेकेण्ड रहेको छ । बाँध क्षेत्रको कुल जलाधार क्षेत्र ७६४.७ वर्ग किलोमिटर रहेको छ ।