म्याग्दी। नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ७१ मेगावाट क्षमताको आयोजनाको निर्माण पूरा भएको हो।
आयोजनाको निर्माण पूरा गरी आजदेखि टनेलमा पानी हालेर परीक्षण गरिने आयोजनाको प्रवद्र्धक कम्पनी नीलगिरिखोला हाइड्रोपावर कम्पनी लिमिटेडले जानकारी दिएको छ। टनेलमा पानी पठाउने क्रममा छोटेपादेखि दोविल्नासम्म खोलाको पानीको बहाव थपघट हुने भएकाले माछा मार्ने, नुहाउने, गाईवस्तु, चौपाया छाड्ने र आवतजावत गर्ने कार्य नगराउन समेत कम्पनीले अनुरोध गरेको छ।
बाँध, सुरुङ, विद्युत्गृह, प्रसारण लाइन, स्विचार्ड निर्माण सकेपछि नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरेर प्रतिनिधिको रोहवरमा परीक्षणको तयारी गरिएको हो ।
छोटेपामा निर्माण भएको डिसेन्डर (बालुवा थिग्र्याउने पोखरी) मा यसअघि नै पानी हालेर परीक्षण गरिएको थियो । छोटेपादेखि दोभिल्नामा रहेको विद्युत्गृहसम्म चार हजार दुई सय ७५ मिटर लामो सुरुङ निर्माण भएको छ ।