बिर्तामोड। ठेक्का लागेर अलपत्र बनेको सात वर्षपछि झापाको अर्जुनधारा–३ स्थित गरुवाचौक–सुखानी सडक कालोपत्रे गरिएको छ । सात वर्षअघि संघीय सरकारअन्तर्गत ठेक्का लागेको भनिए पनि गरुवाचौक–सुखानी सडक निर्माण भने हुन सकेको थिएन ।
गरुवाचौक–सुखानी सडक निर्माणको ठेक्का पाएको द कञ्चनजंगा शेर्पा कञ्चनजंगा जेभीले सो सडकमा ग्राभेल गर्ने काम गरेर अलपत्र पारेको थियो । सडक ग्राभेल हुँदा आवतजावतमा असहज भइरहेको थियो भने हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुँदा त्यस क्षेत्रका बासिन्दाले सास्ती बेहोर्दै आएका थिए । अर्जुनधारा–३स्थित गरुवाचौक–सुखानी सडक खण्डको गरुवाचौक पश्चिम सुब्बा पैनी मुहानदेखि सुखानी खोलासम्म ११ सय मिटर कालोपत्रे गरिएको अर्जुनधारा नगरपलिका–३ का वडाध्यक्ष सिताराम भट्टराईले जानकारी दिए ।
संघीय सरकारले प्रदेश सरकारलाई गरुवाचौक–सुखानी सडकको योजना हस्तनान्तरण गरेको भए पनि सडक निर्माणले गति लिन सकेको थिएन । बजेट शुनिश्चत नहुँदा काम गर्न नसक्ने भन्दै ठेकेदार पन्छिएपछि लामो समयदेखि सडक निर्माण अलपत्र परेको बताए । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले उक्त सडकको अवलोकन गरी बजेट सुनिश्चतताको प्रतिबद्धता जनाएपछि ठेकेदारले गरुवाचौक–सुखानी सडकमा कालोपत्रे गरेको वडाध्यक्ष भट्टराईले बताए ।
झापाको बिर्तामोड–शनिश्चरे–खुदुनाबारी हुँदै इलाम जोड्ने मुख्य सडक खण्डको रूपमा रहेको गरुवाचौक–सुखानी सडक सुखानी सहिदको सहादतस्थल जानसमेत प्रयोग हुने गरेको छ । हाल कालोपत्रे भएको सडक गरुवाचौक हुँदै सुखानी खोला पुगेपछि मदन भण्डारी राजमार्गमा जोडिएको छ । कच्ची सडकका कारण दैनिकजसो धुलो र हिलोको असर खेप्दै आएका त्यस क्षेत्रका बासिन्दा गरुवाचौक–सुखानी सडक कालोपत्रे भएपछि हर्षित भएका छन् । उनीहरूले बल्ल गाउँमा सिंहदरबार आएको अनुभूति भएको बताए । कारोबार दैनिकबाट