काठमाडौं।६ मेगावाटको मध्य मोलुङ खोला साना जलविद्युत् आयोजनाको काम साढे ३ वर्षमा सम्पन्न गरिने भएको छ । शुभारम्भ हाइड्रो पावर प्रालिले आखलढुङ्गाको मोलुङ खोलामा निर्माण गर्न लागेको आयोजनाको काम २०२७ जुलाई भित्र सम्पन्न गर्ने लक्ष्य लिएको हो ।
जिल्लाको सुनकोसी गाउँपालिका वडा नम्बर–८, मोलुङ गाउँपालिका वडा नम्बर–१ तथा सिद्धिचरण नगरपालिका वडा नम्बर–९ र १० अवस्थित मोलुङ खोलाको पानी प्रयोग गरी आयोजना निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले आयोजनाको काम अघि बढाउन विद्युत् विकास विभागमा आवेदन दिएको छ । कम्पनीले विभागबाट स्वीकृत प्राप्त भए लगतै आयोजनाको काम अघि बढाउनेछ ।
प्रस्तावित आयोजना निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकुल असर पर्ने भएमा सूचना प्रकाशित भएको ३५ दिनभित्रमा सरोकारवालालाई लिखित रायरसुझाव पेश गर्न आग्रह गरेको छ ।
आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी सिंगल सर्किट प्रसारण लाइन मार्फत १० किलोमिटरको दूरीमा रहेको निर्माणाधीन आयोमोलुङ सबस्टेसनमा जोडी संयुक्त रुपमा १३२ केभी सिंगल सर्किट प्रसारण लाइन मार्फत तिङ्ला सबस्टेसनमा जाडिनेछ ।