चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन सवारीसाधन रोकेर भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ। नारायणगढ–मुग्लिन सडकको भित्तो काट्ने काम ८० प्रतिशत पूरा भएको हो।
उक्त कार्य यहि माघ महिनाभित्र सकिने आयोजनाले जनाएको छ। पहिलो पटक तीन साता सवारीसाधन रोकेर भित्तो काटिएको थियो। काम नसकिएपछि दोस्रो पटक थप गरिएको तीन साता यही माघ २० गते सकिँदैछ। दोस्रो पटक म्याद थपेपछि चार दिन काम गर्न नपाएकाले थोरै दिनमात्रै थप गर्नुपर्ने हुनसक्ने आयोजनाले जनाएको छ।
सवारीसाधन दैनिक चार घण्टा रोकेर गत पुस ७ गतेदेखि काम भएको छ। मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सवारीसाधन रोकेर काम गरिँदै आइएको छ। ६० मिटर अग्लो भित्तोको एकातर्फको भाग ११ मिटर र अर्कोतर्फ १४ मिटर तल झरेको छ। मुग्लिनतर्फ १४ मिटर बाँकी छ भने खोलातर्फ ११ मिटर बाँकी छ।