पाल्पा। पाल्पाको प्रमुख पर्यटकीयस्थल रानीमहल जाने सडक मर्मतका लागि बुधबारदेखि ४८ दिन बन्द हुने भएको छ । बैकुन्ठे भीर नजिकैको सडक ढलान गर्न माघ १७ गते बुधबारदेखि आगामी चैत ५ गतेसम्म बन्द गर्न लागिएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ ।
रानीमहल जाने सवारीसाधन २४ घण्टा नै पूर्ण रूपमा बन्द हुने भएकाले सडकको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेरिएको छ। जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको सरोकारवालाको बैठकले सडक बन्द गरेर ढलान गर्ने निर्णय गरेको हो।
तानसेनदेखि १५ किलोमिटर दुरीमा पुगिने रानीमहल सडक लामो समय बन्द हुँदा तानसेन–हार्थोक–अर्गली हुँदै रानीमहल पुग्न ४० किलोमिटर यात्रा तय गर्नुपर्छ । कच्ची सडक बौघागुम्हा भएर जाने वैकल्पिक मार्ग भए पनि यहाँको सडक कच्ची र अप्ठ्यारो भीर रहेको छ ।