म्याग्दी। म्याग्दीको पश्चिमी क्षेत्रका ३ स्थानीय तहमा विद्युतीकरण गर्न निर्माण भएको ३३ केभी प्रसारण लाइन र सबस्टेसनको परीक्षण सफल भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगा जोड्ने २२ किलोमिटर लामो प्रसारण लाइन र रातोढुंगामा निर्माण सम्पन्न ३३।११ केभी क्षमताको सबस्टेसनको परीक्षण गरिएको हो ।
प्रसारण लाइन र सबस्टेसनको परीक्षण सफल भएको निर्माण कम्पनीले जनाएको छ। नेपाल विद्युत् प्राधिकरणमार्फत एटुजेड इन्जिनियरिङले सन् २०१६ मा ठेक्का लिएको सबस्टेसन र प्रसारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो। सुरुआती चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो । पोल गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले रोकिएको आयोजनाको काम गत जेठ महिनामा चार वर्षपछि सुरु भएको थियो।