काठमाडौं। राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको ४.७१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सिँचाइ नहरको पानीको प्रयोग गरि उत्पादन भएको विद्युत् मंगलबार (माघ १६ गते) देखि प्रणालीमा जोडिएको हो ।
आयोजनाको सबै संरचनाको परीक्षण पूरा गरी हिजोदेखि उत्पादीत विद्युत् प्रणालीमा जोडिएको बताइएको छ। बाह्रै महिना एकनासको विद्युत् उत्पादन हुने र कन्चनपुरको महेन्द्रनगरदेखि दाङको लमहीसम्मको पश्चिम तराईमा एकमात्र विद्युत् केन्द्र भएकोले यो क्षेत्रमा भरपर्दो विद्युत् आपूर्ति गर्न यसको महत्वपूर्ण योगदान हुने आयोजनाले बताएको छ।
विद्युत् गृहमा ३ वटा युनिट जडान गरिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत ६.५ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको लम्की सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ३३ केभी प्रसारण लाइन सिँचाइ आयोजना आफैले निर्माण गरेको हो ।