काठमाडौं। बंगलादेशले आगामी जेठदेखि नेपालबाट विद्युत आयात गर्ने भएको छ। बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली आयात गर्नेगरी सूचना निकालेको हो ।
यस निम्ति ढाकाले काठमाडौंसँग प्रस्ताव माग गरेको छ ।
अब भारतपछि बंगलादेश नेपालको विद्युत किन्ने दोस्रो मुलुक हुनेछ । नेपाल विद्युत प्राधिकरणले २०७८ कात्तिकदेखि नै देशमा खपत हुन नसकेको बिजुली भारतको इन्डियन इनर्जी एक्सचेञ्ज लिमिटेडको ‘डे अहेड मार्केट’मा प्रतिष्पर्धी मूल्यमा बिक्री गर्न थालेको थियो । भारतलाई ८०० मेगावाटसम्म विद्युत बेच्नेगरी नेपालले ढल्केबर सबस्टेशन र प्रसारण स्तरोन्नती गरिरहेको छ ।
बंगलादेशमा पनि बिजलुी बिक्री गर्न नेपाल, भारत र बंगलादेशबीच गत साउन अन्तिम साता त्रिदेशीय सहमति भएको थियो । भारतीय पक्षले आफ्नो भूमि हुँदै नेपालको बिजुली बंगलादेशसम्म पठाउन प्रसारण समस्या भएको बताएको थियो ।
तर ढाका र काठमाडौंका अधिकारीहरूले ४० मेगावाटसम्म भए पनि व्यापार शुरु गर्ने र त्यस निम्ति सहजीकरण गर्नुपर्ने दबाब दिएपछि दिल्लीका अधिकारीहरू सहमतिमा आएका थिए । नेपालको बिजुली बंगलादेशसम्म पुर्याउन भारतको प्रसारणलाइन प्रयोग गर्नुपर्छ ।