बागलुङ। बागलुङ बजारदेखि पर्वतको जलजला गाउँपालिका जोड्न काली गण्डकी नदीमाथि निर्माणाधीन पाँच सय २४ मिटर लामो झोलुङ्गे पुल अन्तिम चरणमा पुगेको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधामबाट जलजला गाउँपालिका–८ ओडारे जोड्ने उक्त पुल डेढवर्ष अघि निर्माण थालिएको थियो । पुल निर्माणको करिब ९५ प्रतिशत भौतिक प्रगति भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय ललितपुरले जनाएको छ ।
दुई वर्ष भित्रमा योजना सम्पन्न गर्न २०७९ असार २१ गते सस्पेन्सन ब्रिज डिभिजन कार्यालय ललितपुरले हिमशिखर हिरा कन्स्ट्रक्सन निर्माण कम्पनीबिच भ्याट बाहेक ८ करोड २३ लाख ४१ हजार चारसय ११ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता मितिभन्दा चार महिना अगावै पुल निर्माण सम्पन्न हुन लागेको हो । अबको तीन हप्ताभित्र पुलबाट वारपार गर्ने व्यवस्था मिलाउन यतिखेर निर्माणको बाँकी कामलाई तीव्रता दिइएको छ ।
पुल निर्माण सम्पन्न भएपछि जलजला ८ नाग्लीबाङका स्थानीयहरू घण्टौँ लगाएर बागलुङ बजार आउनुपर्ने बाध्यताको अन्त्य हुने बागलुङ नगरपालिका ४ का वडाध्यक्ष कुमार विक्रम क्षेत्रले बताए । जलजलाका नागरिकहरू व्यापारिक कामका लागि बागलुङ आउन निकै सहज हुने उनले बताए। गोरखापत्रबाट