काठमाडौं। शुभारम्भ हाइड्रो पावर प्रालिले निर्माण गर्न लागेको ६ मेगावाटको मध्य मोलुङ खोला साना जलविद्युत् आयोजनाको काम साढे ३ वर्षमा सम्पन्न गर्ने भएको छ । कम्पनीले आखलढुङ्गाको मोलुङ खोलामा पहिचान भएको आयोजनाको काम २०२७ जुलाई भित्र सम्पन्न गर्ने लक्ष्य लिएको हो ।
जिल्लाको सुनकोसी गाउँपालिका वडा नम्बर–८, मोलुङ गाउँपालिका वडा नम्बर–१ तथा सिद्धिचरण नगरपालिका वडा नम्बर–९ र १० अवस्थित मोलुङ खोलाको पानी प्रयोग गरी आयोजना निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले आयोजनाको काम अघि बढाउन विद्युत् विकास विभागमा आवेदन दिएको छ । कम्पनीले विभागबाट स्वीकृत प्राप्त भए लगतै आयोजनाको काम अघि बढाउनेछ ।
प्रस्तावित आयोजनाको डिजाइन बहाव ९.१६ घनमिटर प्रतिसेकेण्ड, ८२ मिटर ग्रस हेड र ७५.७४ मिटर नेट हेट रहनेछ । आयोजनाको भौतिक संरचनाहरू सुनकोसी गाउँपालिकामा पर्ने गरी निर्माण गरिने छ ।
प्रस्तावित आयोजना निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकुल असर पर्ने भएमा सूचना प्रकाशित भएको ३५ दिनभित्रमा सरोकारवालालाई लिखित रायरसुझाव पेश गर्न आग्रह गरेको छ ।