काठमाडौं। म्याग्दीको मालिका गाउँपालिकामा निर्माणाधीन दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम ३५ प्रतिशत सकिएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण सुरु गरेको २५ मेगावाटको आयोजनाको २८५० मध्ये ९८५ मिटर सुरुङ खनिएको हो ।
आयोजनाको सुरुङ एउटा मात्रै अडिटबाट खनिएको छ। थप मेसिन, उपकरण र जनशक्ति व्यवस्थापन गरेर दुई ठाउँबाट सुरुङमार्ग बनाउने तयारी भइरहेको छ ।
अहिले आयोजनास्थलमा कर्मचारी आवासगृहतर्फको काम भइरहेको छ । यस आयोजनाको सुरुङबाहेक विद्युत् गृह र बाँध क्षेत्रतर्फ कुनै काम सुरु भएको छैन ।
मालिका–५ देवीस्थान र ७ बिमको सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको सुरुङमार्गबाट ल्याइने पानीलाई दुखुबेँसीमा रहने आउटलेटबाट बालौटेमा निर्माण हुने विद्युत् गृहमा खसाली बिजुली उत्पादन गर्ने तयारी गरेको छ ।
आयोजना सम्पन्न गर्न ५ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ३० प्रतिशत प्रवर्द्धक र सर्वसाधारणको सेयर लगानी रहने छ, भने अन्य बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहनेछ ।