फाइल तस्बिर
रुकुम पूर्व । रुकुम पूर्वसँग जोडिएको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बुधबार राति र बिहीबार दिनभरि परेको हिउँका कारण मध्यपहाडी लोकमार्गको रुकुम पूर्वस्थित लुकुम–पातीहाल्ना सडकखण्डमा यातायातका साधन चल्न नसकेका हुन्।
मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना क्षेत्रको झन्डै १९ किलोमिटर सडकमा बाक्लो हिउँ जमेको छ । बिहीबार दिनभरिजसो हिमपात भएपछि सडक खुलाउन सकिएन । आज सडकमा जमेको हिउँ पन्छाउने तयारी भइरहेको छ।
सडक अवरुद्ध भएपछि बिहीबार काठमाडौंबाट आएका सवारीसाधन पातीहाल्नामा रोकिए । अलपत्र परेका यात्रुलाई प्रहरी र प्रशासनको गाडीमार्फत उद्धार गरेर रुकुमकोट ल्याइएको छ ।
हिउँ परेपछि सहिदमार्ग पनि अवरुद्ध भएको छ । भूमे गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिकाको सिमाना रिकालेकदेखि हुकामसम्मको सडकखण्ड अवरुद्ध छ । हिउँ परेपछि पुथा उत्तरगंगा गाउँपालिकाको जनजीवन प्रभावित बनेको छ ।