काभ्रेपलाञ्चोक। रोशी गाउँपालिका–११ भिमखोरीमा प्रसारण लाइन जडान भएको छ। भिमखोरीको ३६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइन जडान भएको हो।
प्रसारण लाइन जडान कार्य सम्पन्न भएपछि शुक्रबार रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले विद्युतीकरणको शुभारम्भ गरेका हुन् । प्रसारण लाइनको शुभारम्भ गरेसँगै वडा नं ११ का छहरे, भैँसे, पौवा, भदौरे, मानेगाउँ र अमलबासका गरी तीन सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बलेको छ।
राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार नहुँदा यसअघि वडा कार्यालयमा सौर्य बत्तीमार्फत नागरिकलाई सेवा प्रवाह गर्दै आइएको वडाध्यक्ष लालकुमार पाख्रिनले बताए। विद्य्त् सेवा जडान भएसँगै यहाँका स्थानीयको दैनिकी सहज हुँदै जाने उनको भनाइ थियो।