काठमाडौं। राहुघाट जलविद्युत् आयोजनाको काम ६५ प्रतिशत पूरा भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक रघुगंगा हाइड्रो पावर कम्पनीले म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माण गरिरहेको ४० मेगावाटको आयोजनाको काम ६५ प्रतिशत पूरा भएको हो।
अहिले आयोजनाको डिसेन्डर (बालुवा थिग्राउने पोखरी) निर्माणका लागि राहुघाट नदीलाई फर्काएर डिसेन्डरको काम भइरहेको छ। रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नम्बर ५ को फेदीमा ११९.७ मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्डर बनाउनका लागि खोला फर्काइएको हो।
विसं २०७४ मंसिरमा ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार भारतको जयप्रकाश एसोसियटले हालसम्म ६५ प्रतिशत काम गरेको प्रवद्र्धक कम्पनी रघुगङ्गा हाइड्रोपावरले जनाएको छ। आयोजनाको करिब ५० प्रतिशत वित्तीय प्रगति भएको छ ।
सुरुङ ९० प्रतिशत र विद्युत् गृह निर्माणको काम ५० प्रतिशतभन्दा बढी सकिएको छ । ६.२ किलोमिटर सुरुङमध्ये ५.५९८ किलोमिटर सुरुङ निर्माण सकिएको छ ।