काठमाडौं। झापा इनर्जी प्रालिले निर्माण सम्पन्न गरेको १० मेगावाटको सौर्य आयोजनाले ३५ दिनको अवधिमा ८ लाख युनिट विद्युत उत्पादन गरेको छ। निर्माण सम्पन्न भएपछि सौर्य ऊर्जा आयोजनाले उत्पादन थालेको ३५ दिनको अवधिमा ८ लाख युनिट विद्युत् उत्पादन गरेको हो।
आयोजनाबाट हाल ६ मेगावाट मात्र बिजुली उत्पादन भइरहेको कम्पनीले जनाएको छ।
कोशी प्रदेशको ठूलो मानिएको उक्त सौर्य परियोजनाको पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत माघ १३ गते उद्घाटन गरेका थिए । परियोजनाबाट उत्पादित विद्युत् मेन ग्रीडमा जडान भइसकेको छ ।
हालसम्म परियोजनामा करिब ८७ करोड रुपैयाँ खर्च भएको छ । ऊर्जा उत्पादनतर्फका काम सकेर सौन्दर्यकरणको काम भइरहेको परियोजना कार्यालयले जनाएको छ । सौर्य ऊर्जा उत्पादनसँगै पर्यटनसँग जोड्ने उद्देश्यले काम थालिएको बताइएको छ।