काठमाडौं। तल्लो सेती अर्धजलाशय जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआए) प्रतिवेदन विद्युत विकास विभागमा पेश भएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले तनहुँमा निर्माण गर्न लागेको १२६ मेगावाटको आयोजनाको इआइए प्रतिवेदन स्वीकृतिका लागि विभागमा पेश गरिएको हो ।
आयोजनाको जग्गा अधिग्रहण प्रक्रियासमेत अगाडि बढाइएको छ ।
आयोजनाका विभिन्न संरचनाका लागि आवश्यक पर्ने निजी जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाउन प्रस्ताव स्वीकृतिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेश गरिएको कम्पनीले जनाएको छ ।
आयोजनाअन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । पानीको प्रवाहलाई देवघाट गाउँपालिका ३ र ४ हुँदै ६ दशमलव ८ किलोमिटर लामो सुरुङमार्फत सेती नदीको सङ्गमदेखि करिब ५ सय मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्ध भूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गर्ने योजना बनाइएको छ ।