बागलुङ। अक्षते–सुल्डाँडा–लेखानी सडक स्तारोन्नति गरिने भएको छ। ट्र्याक निर्माण गरिएको २० वर्षपछि सडक स्तरोन्नति गरिने भएको हो।
विसं २०६० मा जनसहभागिता उक्त ट्र्याक निर्माण गरिएको थियो। यसलाई लोकमार्गको वैकल्पिक सडकका रुपमा लिइएको छ । स्थानीयले कोदालो, गैँटी र बेल्चाले महिनौँ लगाएर निर्माण गरेको सडक यसवर्ष स्तरोन्नति हुने भएको हो । बहुवर्षीय योजना अन्तर्गत सङ्घीय सरकार र काठेखोला गाउँपालिकाको सहकार्यमा सडक स्तरोन्नति हुन थालेको हो ।
काठेखोला–१ अक्षतेदेखि वडा नं ८ लेखानी जोडिएको १५ किलोमिटर सडकका लागि चालु आर्थिक वर्षमा एक करोड विनियोजन भएको छ । भुदीखोला पुलदेखि स्तारोन्नतिसहित ग्राभेलिङ गर्ने योजना रहेको गाउँपालिकाको भनाइ छ।
स्तरोन्नति अन्तर्गत सडक चौडा गर्ने, नाली निर्माण र बेसको अन्य काम हुनेछ । बाटो स्तरोन्नति नहुँदा वर्षौसम्म नागरिकले समस्या भोग्नु परेको थियो।